पृथ्वीचोक क्षेत्र पुन: अस्तव्यस्त
पाेखरा | जेठ ३०, २०८१
पाेखरा: जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ ।
गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किङ निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लंघन भएको हो ।
पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो ।
पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो । लामो दूरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छु्ट्न थालेका थिए । नगर बसलगायत छोटो दूरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे ।
पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो । तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ ।
काठमाडौँलगायत लामो दूरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन् । बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ ।
माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ ।
पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ ।
बसपार्क, होटल, वित्तीय संस्था, अस्पताल तरकारी बजार, मासु पसललगायत व्यवसाय तथा सरकारी सेवा दिने यातायात व्यवस्था कार्यालयलगायत अड्डा पनि सोही क्षेत्रमा रहेकाले पृथ्वीचोकमा मानिसको भीडभाड भइरहन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताए ।
“पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ,” उनले भने, “सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयबासीको साथ चाहिन्छ ।”
सडक फराकिलो र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले सो क्षेत्रमा रहेका अस्थायी संरचनासमेत हटाएको थियो । जीर्ण अवस्थामा रहेको बसपार्कको मर्मतसुधारको काम महानगर र प्रदेश सरकारले मिलेर गरेका थिए । यातायात व्यवसायीहरूले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् ।
पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पर्खाइमा छ । बसपार्क बनाउन वि.सं. २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदैँ गएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

